रुवी भ्याली विकासमा अर्को फड्को: पेन्तिस्या–तिर सडक ट्र्याक सुचारू
धादिङ।
धादिङजिल्लाको विकट मानिएको रुवी भ्याली गाउँपालिकामा विकासले नयाँ फड्को मार्दैछ। यस क्रममा वडा नं. ५ र ६ अन्तर्गत पर्ने पेन्तिस्या–तिर–रिचेत–कपुर गाउँ सडक खण्डको पेन्तिस्या–तिर खण्डमा नयाँ ट्र्याक निर्माण गरी औपचारिक रूपमा उद्घाटन समेत गरिएको छ। नयाँ वर्षको अवसर पारेर गरिएको सडक उद्घाटनसंगै अब यातायातका साधन सुचारू भएको ६ नं. वडा अध्यक्ष समीर गुरूङले बताउनु भयो।
सडक उद्घाटन समारोहमा बोल्दै गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले निजी क्षेत्रसँगको सहकार्यले स्थानीय विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताउनु भयो। “गोरक्ष हाइड्रोपावरको सहयोगले यहाँका नागरिकको वर्षौँदेखिको सपना साकार भएको छ। अब यो सडकले आर्थिक गतिविधि विस्तारमा टेवा पुर्याउनेछ,” अध्यक्ष तामाङले भन्नुभयो। साथै, आफ्नो कार्यकालभित्र सबै वडामा सडक सञ्जाल विस्तार गर्ने लक्ष्य रहेको पनि उहाँले स्पष्ट पार्नुभयो।
कार्यक्रममा उपाध्यक्ष फेलामा तामाङले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गरिएको लगानीले दुर्गम क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको उल्लेख गर्दै हाइड्रोपावर कम्पनीप्रति आभार व्यक्त गर्नुभयो। “यस्ता सहकार्यहरूले दुर्गम भेगको विकासलाई तीव्रता दिन महत्वपूर्ण भूमिका खेल्छने पनि उहाँको भनाइ छ।
त्यसैगरि ६ न. वडा अध्यक्ष समीर गुरुङले सडक ट्र्याक खुलेसँगै स्थानीयवासीको दैनिकी सहज भएको बताउनु भयो। “यो सुरुवात मात्र हो। अब हामी सडकको स्तरोन्नति गर्दै थप पूर्वाधार विकासमा ध्यान केन्द्रित गर्नेछौँ,” गुरूङले बताउनु भयो।
उक्त सडक गोरक्ष हाइड्रोपावरको आर्थिक सहयोगमा निर्माण गरिएको हो। यसले पहिलो पटक दुर्गम बस्तीलाई सडक सञ्जालसँग जोड्ने ऐतिहासिक उपलब्धि हासिल गरेको स्थानीयहरूको भनाइ छ। सडक सञ्चालनमा आएपछि आवतजावत, स्वास्थ्य सेवा पहुँच, शिक्षा तथा व्यापार–व्यवसायमा उल्लेखनीय सुधार आउने विश्वास स्थानीयवासीहरूले व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस