आधारभूत मौरीपालन तालिम सम्पन्न

रेडियो धादिङ - |

बेनीघाट रोराङ गाउँपालिका–८ को चैलिङमा कृषकहरूका लागि सञ्चालन गरिएको तीनदिने आधारभूत मौरीपालन तालिम सम्पन्न भएको छ। अष्ट्रेलियन एड डाइरेक्ट एड प्रोग्राम, डीएपीको आर्थिक सहयोग तथा हरित उद्यम प्रवर्द्धन परियोजनाअन्तर्गत तालिम वैशाख २३ देखि २५ गतेसम्म सञ्चालन गरिएको हो।
तालिममा स्थानीय कृषकहरूलाई आधुनिक मौरीपालनसम्बन्धी आधारभूत ज्ञान तथा व्यवहारिक सीप प्रदान गरिएको थियो। सहभागीहरूलाई मौरी घार व्यवस्थापन, मौरीको हेरचाह, मह उत्पादन, रोग नियन्त्रण तथा सुरक्षित रूपमा मह संकलन गर्ने विधिबारे जानकारी दिइएको आयोजकले जनाएको छ।
तालिम समापनपछि वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ तथा फोकस नेपालका कार्यकारी निर्देशक एकराज छत्कुलीद्वारा सहभागी कृषक तथा कृषक समूहलाई मौरी घार, व्यक्तिगत सुरक्षा सामग्री, मह संकलनका उपकरण लगायत आवश्यक सामग्री हस्तान्तरण गरिएको थियो।
तालिममा सहभागी कृषकहरूले व्यवहारिक सीपसँगै आवश्यक सामग्रीसमेत प्राप्त भएकामा खुशी व्यक्त गरेका छन्। उक्त तालिमले स्थानीय स्तरमा आयआर्जन वृद्धि तथा दिगो उद्यम विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस