धादिङका युवाको माग : ‘लक्षित समूह होइन, विकासका साझेदार बनाऊ’

|

धादिङ । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा धादिङका युवाहरूले युवालाई विकासको लक्षित समूह मात्र नभई साझेदार र नेतृत्वकर्ता का रूपमा स्वीकार गर्न सरकारसँग माग गरेका छन्। विभिन्न युवा सञ्जाल, समूह, उद्यमी तथा सामाजिक क्षेत्रमा क्रियाशील युवाको छलफलबाट धादिङ युवा घोषणापत्र २०८३’ सार्वजनिक गरिएको हो।

घोषणापत्रमा युवाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई स्थानीय विकाससँग जोड्न संघ, प्रदेश र स्थानीय सरकार, निजी क्षेत्र तथा नागरिक समाजबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ।

युवाहरूले बेरोजगारी, सीप तथा रोजगारीको अभाव, उद्यमशीलताका लागि वित्तीय पहुँचको कमी, मानसिक स्वास्थ्य, डिजिटल पहुँचको अभाव र निर्णय प्रक्रियामा न्यून सहभागिता लाई प्रमुख समस्या औंल्याएका छन्।

घोषणापत्रमार्फत स्थानीय रोजगारी सिर्जना, युवा उद्यम तथा स्टार्टअपका लागि सहुलियतपूर्ण वित्तीय पहुँच, कृषि, पर्यटन, सूचना प्रविधि तथा डिजिटल अर्थतन्त्रमा युवा सहभागिता बढाउन माग गरिएको छ। बजारमुखी सीप शिक्षा, सुरक्षित वैदेशिक रोजगारी, फर्किएका आप्रवासी युवाको सीप र पुँजीको उपयोग तथा युवा महिलासहित पछाडि पारिएका समुदायका युवाका लागि विशेष अवसर सुनिश्चित गर्न पनि आग्रह गरिएको छ।

त्यस्तै स्थानीय तहको योजना तथा बजेट निर्माणमा युवाको अर्थपूर्ण सहभागिता, प्रत्येक स्थानीय तहमा युथ इन्फर्मेसन/रिसोर्स सेन्टर, डिजिटल साक्षरता, एआई तथा डिजिटल उद्यमशीलता, मानसिक स्वास्थ्य र करियर काउन्सिलिङका कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ।

युवाहरूले सामाजिक सद्भाव, समावेशिता, वातावरण संरक्षण, स्वयंसेवा, डिजिटल प्रविधिको जिम्मेवार प्रयोग तथा सामाजिक नवप्रवर्तनमा सक्रिय भूमिका निर्वाह गर्ने आठबुँदे प्रतिबद्धता समेत जनाएका छन्।

घोषणापत्रले युवालाई विदेश जान रोक्नेभन्दा स्वदेशमै शिक्षा, सीप, रोजगारी, उद्यमशीलता र लगानीका अवसर सिर्जना गर्नुपर्ने मा जोड दिएको छ।

घोषणापत्रको मूल सन्देश युवा पलायन रोकौँ, युवाका लागि अवसर सिर्जना गरौँ, धादिङ निर्माण गरौँ’ रहेको छ। युवाहरूले सरकारका नीति, योजना तथा बजेटमा आफ्ना सवाललाई प्राथमिकताका साथ समेट्न आग्रह गरेका छन्।

घोषणापत्रमा ग्रामीणमुखी युवा अभियान (रोयम नेपाल), रोट्रयाक क्लब अफ धादिङ, परिवर्तन जिल्ला युवा महिला सञ्जाल, युवा मानव अधिकार रक्षक सञ्जाल, ग्लोबल नेपाल, रोटरी क्लब अफ धादिङलगायत संस्थाका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।

प्रतिकृया दिनुहोस