त्रिशूली नदीले धार परिवर्तन गर्दा गल्छीमा थप ५२ घर विस्थापित
धादिङ, १४ भदौ । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली नदीले धार परिवर्तन गर्दा धादिङको गल्छी गाउँपालिका–४ मा थप ५२ घर विस्थापित भएका छन्।
आज बिहान नदीको बहाव बढेसँगै चिरौंदीखोला र बेल्खु क्षेत्रमा नदी कटान तीव्र भएपछि ५२ घर जोखिममा परेका हुन्। तीमध्ये चिरौंदीखोलाका ४ र बेल्खु क्षेत्रका ४८ घर रहेका छन्। जोखिममा परेका घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको गल्छी गाउँपालिकाले जनाएको छ।
गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाका अनुसार भोटेकोशीमा आएको बाढीपछि त्रिशूली नदीले धार परिवर्तन गरेको छ। नदीले नयाँ धारबाट बस्ती तथा घरतर्फ कटान गर्न थालेपछि केही घर भत्किनसमेत थालेका छन्।
नदीको कटान अझै नरोकिएकाले आसपासका थप घरहरू समेत जोखिममा पर्न सक्ने अवस्था रहेको अध्यक्ष खतिवडाले बताउनुभयो। उहाँका अनुसार नदीको बहाव र कटानको अवस्था निरन्तर निगरानीमा राखिएको छ।
यसअघि गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीका कारण गल्छी गाउँपालिकाको महेश दोभान र बैरेनी क्षेत्रमा ठूलो क्षति पुगेको थियो। बाढीको पानी बस्तीमा पस्दा घरहरू डुबानमा पर्नुका साथै घर तथा सडकमा ठूलो मात्रामा लेदो र गेग्रान थुप्रिएको थियो। उक्त बाढीका कारण ती क्षेत्रमा ११० घर विस्थापित भएका थिए।
बाढीपछि त्रिशूली नदीको बहाव र धारमा आएको परिवर्तनले नदी किनारका बस्तीमा कटानको जोखिम थप बढेको गाउँपालिकाले जनाएको छ। नदीले पुरानो धार परिवर्तन गरी बस्ती तथा घरतर्फ कटान गर्न थालेपछि घरजग्गा तथा अन्य भौतिक संरचनामा समेत जोखिम बढेको छ।
विस्थापित परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा आवश्यक राहत र व्यवस्थापनको काम भइरहेको गाउँपालिकाले जनाएको छ। जोखिममा रहेका परिवारका लागि गाउँपालिकाले होल्डिङ सेन्टरसमेत तयार पारेको छ।
गाउँपालिकाले नदी किनार तथा बाढी प्रभावित क्षेत्रमा रहेका स्थानीयवासीलाई सतर्क रहन र जोखिमको अवस्था देखिए तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ। साथै, जोखिममा रहेका परिवारलाई गाउँपालिकाले तयार पारेको होल्डिङ सेन्टरमा जानसमेत आग्रह गरिएको छ।
भोटेकोशीमा आएको बाढीपछि त्रिशूली नदीमा आएको ठूलो बहाव र धार परिवर्तनका कारण धादिङका नदी किनारका बस्तीमा जोखिम कायमै रहेको छ। नदी कटान नरोकिए थप घरपरिवार विस्थापित हुन सक्ने भएकाले स्थानीय तहले जोखिमयुक्त बस्तीमा विशेष निगरानी बढाएको छ।

प्रतिकृया दिनुहोस