बाढीपीडितलाई खाद्यान्नदेखि अस्थायी आवाससम्मको सहयोग
धादिङ । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित धादिङका परिवारलाई आपत्कालीन राहत तथा आश्रय सामग्री उपलब्ध गराइएको छ। बाढीबाट अतिप्रभावित गल्छी गाउँपालिकाका १०० घरधुरीलाई खाद्यान्न तथा बेनीघाट रोराङ गाउँपालिकालाई अस्थायी आवासका लागि टेन्ट र त्रिपाल हस्तान्तरण गरिएको हो।
‘नेपाल फ्लड रेस्पोन्स प्रोग्राम’ अन्तर्गत गल्छी गाउँपालिकासँगको समन्वयमा डीसीए नेपाल (DCA Nepal) र एक्सन नेपालको सहकार्यमा राहत सामग्री वितरण गरिएको हो।
राहतअन्तर्गत प्रत्येक प्रभावित परिवारलाई एक बोरा चामल, दुई लिटर तोरीको तेल, एक पोका नुन, एक प्याकेट मसला, एक प्याकेट बेसार, एक प्याकेट खुर्सानी, पाँच प्याकेट सोयाबिन र पाँच किलोग्राम दाल प्रदान गरिएको छ। बाढीका कारण दैनिक जीवन प्रभावित भएका परिवारलाई तत्कालको खाद्य आवश्यकता पूरा गर्न राहत सामग्री उपलब्ध गराइएको हो।
यस्तै, प्रभावित परिवारको अस्थायी बसोबास तथा पुनर्स्थापनालाई लक्षित गर्दै बेनीघाट रोराङ गाउँपालिकालाई १० थान फेमिली टेन्ट र १५० थान त्रिपाल हस्तान्तरण गरिएको छ। बाढीबाट घर तथा बसोबासमा क्षति पुगेका परिवारलाई तत्काल आश्रयको व्यवस्था गर्न ती सामग्री उपयोग गरिने जनाइएको छ।
स्थानीय तहसँग प्रत्यक्ष समन्वय गरी प्रभावितको आवश्यकता पहिचान गरेर राहत सहयोग उपलब्ध गराइएको एक्सन नेपालका अध्यक्ष कमलराज ढुंगानाले बताउनुभयो। उहाँले विपद्को समयमा प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न खाद्यान्न तथा आश्रय सामग्रीको सहयोग महत्वपूर्ण हुने बताउनुभयो।
बाढी प्रभावित समुदायको आवश्यकता र अवस्थाका आधारमा राहत तथा पुनर्स्थापनाका कार्यक्रमलाई आगामी दिनमा पनि स्थानीय तहसँगको सहकार्यमा निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस