त्रिपुरासुन्दरीमा ३०० हेक्टरमा जलवायु अनुकूल धान र गहुँ खेती गरिने
धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकामा जलवायु परिवर्तनका असरलाई ध्यानमा राख्दै ३०० हेक्टर क्षेत्रफलमा जलवायु उत्थानशील धान र गहुँ खेती प्रवर्द्धन गरिने भएको छ।
यसका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC), खुमलटार, ललितपुर र त्रिपुरासुन्दरी गाउँपालिका, धादिङबीच जलवायु उत्थानशील खाद्यबालीको प्रदर्शन तथा प्रवर्द्धनसम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार गाउँपालिकाभित्र १५० हेक्टरमा जलवायु उत्थानशील गहुँ र थप १५० हेक्टरमा जलवायु उत्थानशील धान खेती गरिनेछ। कार्यक्रम कार्यान्वयनका लागि कुल ५४ लाख ६० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। उक्त रकम राष्ट्रिय प्रकृति संरक्षण कोषले उपलब्ध गराउनेछ।
जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिँदै आएका खडेरी, बाढी, अनियमित वर्षा तथा अन्य मौसमी जोखिमको प्रभाव घटाउन कार्यक्रम केन्द्रित हुनेछ। जलवायु अनुकूल प्रविधि र सहनशील जातको प्रयोग विस्तार गर्दै कृषकको उत्पादन र उत्पादकत्व बढाउने लक्ष्यसमेत राखिएको छ।
कार्यक्रमले स्थानीयस्तरमा खाद्य सुरक्षा मजबुत बनाउनुका साथै कृषकलाई परम्परागत खेती प्रणालीबाट आधुनिक तथा जलवायु अनुकूल प्रविधितर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ। यसबाट कृषि उत्पादनलाई व्यावसायिक बनाउन र कृषकको आयआर्जनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेतीले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती सामना गर्न कार्यक्रम प्रभावकारी हुने बताउनुभयो।
उहाँले जलवायु परिवर्तनका कारण खडेरी, बाढी र अनियमित वर्षाजस्ता समस्या बढ्दै गएको उल्लेख गर्दै उत्थानशील जात तथा प्रविधिको प्रयोगले कृषकलाई बदलिँदो परिस्थितिसँग अनुकूल हुन सहयोग पुग्ने बताउनुभयो।
“जलवायु परिवर्तनको असरका कारण कृषिमा विभिन्न चुनौती थपिँदै गएका छन्। यस्तो अवस्थामा जलवायु उत्थानशील जात र प्रविधिको प्रयोग विस्तार गरी उत्पादन तथा उत्पादकत्व बढाउनुका साथै खाद्य सुरक्षा सुनिश्चित गर्न यो कार्यक्रम महत्वपूर्ण छ,” अध्यक्ष उप्रेतीले भन्नुभयो।
उहाँले कार्यक्रममार्फत स्थानीय कृषकले आधुनिक र जलवायु अनुकूल कृषि प्रविधि प्रयोग गर्ने अवसर पाउने बताउँदै यसले कृषिलाई व्यावसायिक र दिगो बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रम सञ्चालनका लागि सहयोग गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC) लाई अध्यक्ष उप्रेतीले धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ।

प्रतिकृया दिनुहोस