धादिङमा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १६० रुपैयाँ कायम

रेडियो धादिङ - |

भोटेकोसीबाट आएको बाढी तथा पहिरोका कारण सडक तथा पुलमा क्षति पुगेपछि धादिङमा खाना पकाउने एलपी ग्यासको ढुवानी खर्च बढेको भन्दै व्यवसायीहरुले ग्याँसको मुल्य बढाएको छ। धादिङमा ग्याँसको मुल्य प्रतिसिलिन्डर २ हजार १६० रुपैयाँ कायम गरिएको छ।

धादिङबेँसीमा ग्यास बिक्री–वितरण गर्दै आएका एलसी सेल्स सेन्टर, प्रवीण ट्रेड एण्ड सप्लायर्स र श्री भैरवी ट्रेड एण्ड सप्लायर्सले संयुक्त रूपमा जारी गरेको सूचनाअनुसार नेपाल आयल निगमले भदौ ११ गतेदेखि प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा थप ढुवानी खर्च कायम गरेको थियो। तर तीनवटै ग्यास बिक्रेताबीचको आपसी सहमतिअनुसार उपभोक्ताबाट प्रतिसिलिन्डर १०० रुपैयाँ मात्र थप ढुवानी भाडा समायोजन गर्ने निर्णय गरिएको जनाइएको छ।

ग्यासको मूल मूल्य २ हजार ६० रुपैयाँ र थप ढुवानी भाडा १०० रुपैयाँ गरी अब उपभोक्ताले प्रतिसिलिन्डर २ हजार १६० रुपैयाँ तिर्नुपर्ने सूचनामा उल्लेख छ। साथै, बाटो सहज भएपछि ग्यासको मूल्य पुरानै अवस्थामा कायम हुने जानकारी पनि दिइएको छ। बाढी तथा पहिरोका कारण धादिङ जिल्लाको कृष्णभीर क्षेत्रमा ठूलो पहिरो गएपछि सडक अवरुद्ध हुँदा धादिङबेँसीसम्म ग्यास ल्याउन समस्या भएको बिक्रेताहरूले बताएका छन्।

यसअघि करिब ५५ देखि ७० किलोमिटर दूरी पार गरेर ग्यास ढुवानी हुँदै आएकोमा अहिले धादिङ–सल्यानटार–आरुघाट–गोरखा–आँबुखैरेनी–मुग्लिन–नारायणघाट हुँदै करिब ३२५ देखि ३३० किलोमिटर दूरी पार गरी ग्यास ल्याउनुपर्ने अवस्था सिर्जना भएको सूचनामा उल्लेख छ। यसले ग्यास ढुवानीमा अतिरिक्त खर्च बढेको भन्दै बिक्रेताहरूले बाध्यात्मक रूपमा ढुवानी भाडा समायोजन गर्नुपरेको बताएका छन्। ग्यासको मूल्यमा भएको समायोजनबाट उपभोक्तामा पर्न गएको असुविधाप्रति बिक्रेताहरूले क्षमायाचना गर्दै विषम परिस्थितिमा आवश्यक सहयोग र समझदारीका लागि आग्रह गरेका छन्।

सूचनाको बोधार्थ जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य पर्यटन तथा यातायात कार्यालय, नीलकण्ठ नगरपालिका, वडा नम्बर ३ कार्यालय, धादिङ उद्योग वाणिज्य संघ र धादिङ चेम्बर अफ कमर्सलाई समेत दिइएको छ।

 

प्रतिकृया दिनुहोस