विपद्प्रभावित महिला तथा बालिकाका लागि गल्छीमा ‘स्नेह केन्द्र’ सञ्चालन
धादिङ । विपद्बाट प्रभावित महिला तथा बालिकाको सुरक्षा, सम्मान, स्वास्थ्य र विशेष आवश्यकतालाई केन्द्रमा राख्दै धादिङको गल्छीमा ‘स्नेह केन्द्र’ (महिलामैत्री स्थल) सञ्चालनमा ल्याइएको छ।
ओरेक नेपाल (WOREC) ले तरङ्गिनी फाउन्डेसनसँगको समन्वय तथा गल्छी गाउँपालिका र थाक्रे गाउँपालिकाको सहयोगमा केन्द्र स्थापना गरेको हो। विपद्प्रभावित महिला तथा बालिकालाई सुरक्षित र विश्वासयोग्य वातावरणमा आवश्यक सहयोग, सूचना, मनोसामाजिक परामर्श तथा सम्बन्धित सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको जनाइएको छ।
स्नेह केन्द्रमा महिला तथा बालिकाका लागि सुरक्षित र महिलामैत्री वातावरणसँगै मनोसामाजिक सहयोग तथा परामर्श, विशेष आवश्यकता पहिचान तथा आवश्यक सहयोग, सूचना तथा परामर्श उपलब्ध गराइनेछ। त्यस्तै, स्वास्थ्य, संरक्षणलगायत आवश्यक सेवामा पहुँचका लागि सम्बन्धित निकायसँग समन्वय गरी रेफरल सेवा पनि प्रदान गरिनेछ।
विपद्का समयमा महिला तथा बालिका थप जोखिममा पर्न सक्ने भएकाले उनीहरूको सुरक्षा, गोपनीयता र सम्मानलाई प्राथमिकतामा राखेर सेवा उपलब्ध गराउने केन्द्रको उद्देश्य रहेको छ। आवश्यकताअनुसार प्रभावित महिला तथा बालिकालाई स्वास्थ्य, संरक्षण तथा अन्य अत्यावश्यक सेवासँग जोड्ने कामसमेत केन्द्रले गर्नेछ।
स्नेह केन्द्र सञ्चालनमा आएसँगै विपद्प्रभावित समुदायका महिला तथा बालिकाले आफ्ना समस्या सुरक्षित रूपमा राख्न, मनोसामाजिक सहयोग लिन, आवश्यक सूचना प्राप्त गर्न तथा थप सेवामा सहज पहुँच बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
स्नेह केन्द्र सञ्चालनको पहलकर्ता तथा थाक्रे गाउँपालिकाका पूर्वउपाध्यक्ष अम्बिका रूपाखेतीले विपद्को अवस्थामा महिला तथा बालिकाका विशेष आवश्यकता सम्बोधन गर्न सुरक्षित र विश्वासयोग्य स्थल आवश्यक भएकाले केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो।

प्रतिकृया दिनुहोस