विपद्मा परिवार गुमाएका रसुवा र नुवाकोटका ५० बालबालिकालाई बेनीघाट रोराङले निःशुल्क पढाउने

रेडियो धादिङ - |

धादिङ । विपद्का कारण परिवार गुमाएका रसुवा र नुवाकोटका ५० जना असहाय बालबालिकालाई धादिङको बेनीघाट रोराङ गाउँपालिकाले आफ्नो आवासीय विद्यालयमा राखेर कक्षा १२ सम्म निःशुल्क अध्ययन गराउने निर्णय गरेको छ।
गाउँपालिकाका अनुसार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण परिवार गुमाएका तथा अभिभावकविहीन बनेका बालबालिकालाई शिक्षाको पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो। सम्बन्धित गाउँपालिकाले सिफारिस गरेका ५० जना बालबालिकालाई बेनीघाट रोराङ गाउँपालिकाले सञ्चालन गरेको आवासीय विद्यालयमा राखिनेछ।
विद्यालयमा अध्ययन गर्ने बालबालिकाको शिक्षा, आवासलगायत आवश्यक आधारभूत सुविधाको व्यवस्थापन गाउँपालिकाले गर्ने जनाइएको छ। उनीहरूले कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्न पाउनेछन्।
बाढी तथा विपद्का कारण अभिभावक गुमाएका बालबालिकाको भविष्य सुरक्षित गर्न र उनीहरूको शिक्षामा निरन्तरता दिन गाउँपालिकाले यो निर्णय गरेको अध्यक्ष कृष्णबहादुर थपलियाले बताउनुभयाे। गाउँपालिकाले विपद्पछिको राहतसँगै प्रभावित बालबालिकाको दीर्घकालीन भविष्य निर्माणलाई समेत प्राथमिकतामा राखेको पनि अध्यक्ष थपलिया बताउनुहुन्छ।
“समृद्ध, समावेशी र सुखी बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, सुशासन र पूर्वाधार” भन्ने नारासहित गाउँपालिकाले प्रभावित बालबालिकाको शिक्षाका लागि सहयोग गर्ने निर्णय गरेको हो।

प्रतिकृया दिनुहोस