बाढी प्रभावित क्षेत्रको सभामुख नेतृत्वको टोलीद्वारा स्थलगत निरीक्षण
धादिङ । भोटेकोशी–त्रिशुली महाविपत्तिको १३औँ दिन प्रतिनिधिसभाका सभामुख डिपी अर्यालको नेतृत्वमा धादिङका बाढी प्रभावित विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरिएको छ।
टोलीले बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था तथा अन्य भौतिक संरचनाको अवस्थाबारे जानकारी लिनुका साथै राहत, पुनर्स्थापना र सडक सम्पर्क पुनःस्थापनाका विषयमा सम्बन्धित पक्षसँग छलफल गरेको हो।
बाढीका कारण धादिङ सदरमुकाम नीलकण्ठसहित जिल्लाका सात स्थानीय तहको काठमाडौं तथा पृथ्वी राजमार्गसँगको सडक सम्पर्क प्रभावित भएपछि मलेखुको फुर्केखोलामा बेली ब्रिज निर्माणका लागि प्रस्तावित स्थानको समेत निरीक्षण गरिएको छ। टोलीले घाटबेसीस्थित पुलको अवस्थाबारे पनि जानकारी लिएको थियो।
प्रतिनिधिसभा सदस्य तथा संसदीय सुनुवाइ समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार बेली ब्रिज निर्माणको सम्भाव्यता, डिजाइन र कार्यान्वयनबारे सडक विभागसँग प्राविधिक छलफल गरिनेछ।
टोलीले गल्छी, गजुरी र बेनिघाट–रोराङका बाढी प्रभावित क्षेत्र, आश्रयस्थल, कृष्णभिर पहिरो क्षेत्र, विद्यालय तथा स्वास्थ्य संस्थाको अवस्थाबारे जानकारी लिएको थियो। स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, ठेकेदार, कन्सल्टेन्ट र स्थानीयसँग तत्काल समाधान गर्नुपर्ने समस्याबारे छलफल गरिएको थियो।
सभापति श्रेष्ठले स्थलगत निरीक्षणबाट प्राप्त सुझाव र आवश्यकतालाई कार्ययोजनामा समेटी पुनर्स्थापनाको काम अघि बढाइने बताउनुभयो। प्रभावित नागरिकको जीवन सहज बनाउने कामलाई प्राथमिकतामा राख्दै कार्यान्वयनको नियमित अनुगमन गरिने उहाँले बताउनुभयो।

प्रतिकृया दिनुहोस