कृष्णभीरमा सडक खुलाउन दैनिक १४ घण्टा निर्माण कार्य
धादिङ । बाढीपहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा सडक पुनः सञ्चालनका लागि निर्माण कार्यलाई तीव्रता दिइएको छ। सडक खुलाउने लक्ष्यसहित प्राविधिक तथा निर्माण टोलीले दैनिक लामो समय काम गरिरहेका छन्।
नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड)का अनुसार कृष्णभीरमा अहिले ग्रेड कटिङ, स्लोप व्यवस्थापन र पहुँच सडक निर्माणको काम भइरहेको छ। सडक अवरुद्ध भएको आठौं दिनसम्म करिब १५ जना प्राविधिकको प्रत्यक्ष निगरानीमा १० वटा निर्माण उपकरण परिचालन गरेर दैनिक १४ घण्टासम्म काम भइरहेको छ।
सडकलाई सवारी आवागमनका लागि सुरक्षित र सहज बनाउन आवश्यक प्राविधिक मापदण्डअनुसार ग्रेडियन्ट मिलाउने कामलाई प्राथमिकता दिइएको आयोजनाले जनाएको छ। यो चरण पूरा भएपछि सडकको नाली निर्माण, सब–सर्फेस ड्रेनेज तथा स्लोप संरक्षणका काम अघि बढाइनेछ।
राजधानीमा अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित हुन नदिन ग्यास बुलेट, मालवाहक सवारी, एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधनलाई प्राथमिकताका साथ सञ्चालन गर्न सकिने गरी सडक निर्माण भइरहेको छ।
आयोजनाले सम्भव भएसम्म भदौ मसान्तभित्र सडक सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ। सोहीअनुसार आवश्यक जनशक्ति, उपकरण र प्राविधिक टोलीलाई निरन्तर परिचालन गरिएको छ।
नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड)का इन्जिनियर धिरज ढकालले सडकलाई सकेसम्म चाँडो सञ्चालनमा ल्याउने उद्देश्यले उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै निर्माण कार्य अघि बढाइएको जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस