विपद्मा देखियो स्थानीय तहबीचको सहकार्य, दमकल प्रयोग गरी सहकारी परिसर सफा गरियो
धादिङ । बाढीले थुपारेको लेदो र फोहोर हटाउन स्थानीय तहबीचको सहकार्य प्रभावकारी बनेको छ। बेनिघाट रोराङ गाउँपालिका–७, चरौदीस्थित कृषि सुधार फलफूल तथा तरकारी सहकारी लिमिटेडमा बाढी पसेर जमेको माटो, लेदो तथा फोहोर दमकल प्रयोग गरी सफा गरिएको छ।
बाढीका कारण सहकारी परिसरमा जमेको लेदोले नियमित कामकाज प्रभावित भएपछि गजुरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाको टोली संयुक्त रूपमा सरसफाइमा खटिएको हो।
गजुरी गाउँपालिका प्रहरी प्रमुख केशरमान श्रेष्ठको नेतृत्वमा गजुरी गाउँपालिकाको टोली तथा बेनिघाट रोराङ गाउँपालिकाको टोलीले दमकल परिचालन गरी पानीको फोहोरा हानेर परिसरमा जमेको लेदो, माटो र फोहोर हटाएको हो।
बाढीबाट क्षतिग्रस्त संरचना तथा व्यवसायलाई सकेसम्म छिटो पुनः सञ्चालनमा ल्याउन सहयोग पुगोस् भन्ने उद्देश्यले दुई स्थानीय तहको समन्वयमा सरसफाइ गरिएको जनाइएको छ।
विपद्को समयमा ‘यो मेरो क्षेत्र र त्यो तिम्रो क्षेत्र’ भन्ने सीमाभन्दा माथि उठेर उपलब्ध साधन र जनशक्तिको साझा प्रयोग गर्नु स्थानीय तहबीचको सहकार्यको राम्रो उदाहरण बनेको छ। विशेषगरी विपद्का बेला एउटा स्थानीय तहसँग भएको स्रोत–साधन अर्को प्रभावित क्षेत्रमा उपयोग गर्न सकिने यस्ता अभ्यासले तत्काल राहत तथा पुनःस्थापनाको कामलाई सहज बनाउने देखिन्छ।
बाढीपहिरोजस्ता विपद्ले कुनै सीमाना नहेर्ने भएकाले त्यसको सामना गर्न पनि स्थानीय तहबीचको सहकार्य, समन्वय र आपसी सहयोग आवश्यक हुने यस घटनाले देखाएको छ। प्रभावित संरचना र व्यवसायलाई सामान्य अवस्थामा फर्काउने अभियानमा देखिएको यस्तो सहकार्यले विपद्का बेला स्थानीय सरकारहरूबीचको समन्वय अझ मजबुत बनाउन सकारात्मक सन्देश दिएको छ।

प्रतिकृया दिनुहोस