त्रिशूली नदी किनारमा सरसफाइ अभियान
धादिङ । भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूली नदी किनारमा थुप्रिएको फोहोर तथा नदीजन्य अवशेष हटाउन बेनिघाट रोराङ गाउँपालिकामा सरसफाइ अभियान सञ्चालन गरिएको छ।
गाउँपालिकाको अनुरोधमा सञ्चालन गरिएको अभियानअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–५ स्थित गोमती मन्दिर आसपास तथा बेनिघाट–सिउरेनीटार जोड्ने पक्की पुल आसपास त्रिशूली नदी किनारको सरसफाइ गरिएको हो।
बाढीपछि नदी किनारमा थुप्रिएका प्लास्टिकजन्य फोहोर, बोतल, कपडा, काठ तथा अन्य फोहोरजन्य सामग्री हटाएर नदी किनारलाई सफा र व्यवस्थित बनाइएको छ।
सरसफाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया, जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, स्थानीयवासी तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो।
बाढीपछि नदी किनारमा जम्मा भएको फोहोरका कारण नदीको वातावरणीय स्वच्छता, धार्मिक तथा पर्यटकीय क्षेत्रको सौन्दर्य र स्थानीय समुदायको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले सामूहिक रूपमा सरसफाइ अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष थपलियाले विपद्पछि नदी तथा नदी किनारमा थुप्रिएको फोहोर व्यवस्थापन गर्नु स्थानीय सरकार र समुदायको साझा जिम्मेवारी भएको बताउनुभयो।
उहाँले त्रिशूली नदीलाई स्वच्छ, सफा र वातावरणमैत्री बनाउन नियमित सरसफाइसँगै नदीमा फोहोर फाल्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो।
अध्यक्ष थपलियाले विपद्पछि प्रभावित क्षेत्रको पुनःस्थापना र वातावरण संरक्षणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउँदै आगामी दिनमा पनि नदी तथा नदी किनारको सरसफाइलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
गाउँपालिकाले सरसफाइ अभियानमा सहभागी जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्दै त्रिशूली नदीमा फोहोर नफाल्न र वातावरण संरक्षणमा सहयोग गर्न सर्वसाधारणमा आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस