फुर्केखोलामा पन्टुन पुल राख्न सहयोग गर्ने जनप्रतिनिधिलाई धन्यवाद
धादिङको मलेखुस्थित फुर्केखोलामा पन्टुन पुल राख्न सहयोग गर्ने जिल्लाका १३ वटै स्थानीय तहका जनप्रतिनिधिहरूप्रति प्रतिनिधिसभा सदस्य गंगादेवी श्रेष्ठले धन्यवाद व्यक्त गर्नुभएको छ।
प्रेस चौतारी नेपाल धादिङले आयोजना गरेको भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रममा सांसद श्रेष्ठले नागरिकहरूको आवतजावत सहज बनाउन सबै स्थानीय तहका जनप्रतिनिधि एकजुट भएर रातदिन खटिनु प्रशंसनीय रहेको बताउनुभयो। उहाँले पुल निर्माण तथा सञ्चालनका लागि सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी, प्राविधिक, सुरक्षाकर्मी, व्यवसायी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सबैप्रति आभार व्यक्त गर्नुभएको हो।
संघिय सरकारले लिएर गर्नुपर्ने भएपनि सरकारको तर्फबाट
कुनै पनु पहल हुन नसकेकोमा दु:ख व्यक्त गर्नुभयो । भोटेकोसीमा आएको बाढीले फुर्केखोलास्थित पक्की पुल बगाएपछि धादिङका ८ वटा स्थानिय तह र गोरखाका नागरिकहरूले आवतजावतमा समस्या भोग्दै आएका छन् । पुल बगेसँगै स्थानीय बासिन्दा, यात्रु तथा यातायात व्यवसायीले सास्ती खेप्नुपरेको छ। यस्तो अवस्थामा जिल्लाका १३ वटै स्थानीय तहले साझा पहल गर्दै अस्थायी रूपमा पन्टुन पुल सञ्चालनमा ल्याउन आवश्यक खर्च व्यवस्थापन गर्ने सहमति गरेका थिए।
जिल्लाका सबै स्थानीय तहबीचको सहकार्यले अवरुद्ध सडक सम्पर्क पुनःस्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको छ। विपद्का बेला राजनीतिक तथा प्रशासनिक सीमाभन्दा माथि उठेर नागरिकको समस्यालाई साझा समस्याका रूपमा लिई गरिएको यो सहकार्य सकारात्मक उदाहरण बनेको सांसद श्रेष्ठको भनाई छ।
सांसद श्रेष्ठले विपद्का कारण नागरिकले भोग्नुपरेको समस्या समाधानका लागि सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि जिल्लाको विकास निर्माण तथा जनसरोकारका विषयमा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। यस्तै उहाँको पक्की पुलको लागि र जिल्लाको समग्र विकासको लागि संसदबाट सरकरालाई ध्यानकर्षण गराईरहने प्रतिवद्दता पनि व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस